एमाले पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन तयार

काठमाण्डाै – नेकपा एमालेको चुनाव समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत रूपमा प्रतिवेदन तयार गरेको छ । तर बहुप्रतीक्षित मानिएको ‘नेतृत्व पुनर्गठन वा परिवर्तन’ को विषय भने प्रतिवेदनमा समावेश गरिएको छैन ।

आज ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यदलको बैठकले साझा प्रतिवेदनलाई अन्तिम रूप दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले बदलिँदो जनमनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती र एमालेलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा गम्भीर छलफल भएको बताउनुभयो ।

यसअघि विभिन्न नेताहरूले छुट्टाछुट्टै प्रतिवेदन ल्याएको भन्ने चर्चामा सत्यता नभएको भन्दै सचिव अर्यालले ती अलग–अलग प्रतिवेदन नभई मस्यौदा मात्र भएको बताउनुभयो । कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ ले पेश गरेको मस्यौदामा आवश्यक थपघट र परिमार्जन गरेर सर्वसम्मत साझा दस्तावेज तयार गरिएको उहाँको भनाइ छ ।

सचिव अर्यालले कार्यदलले नेतृत्व पुनर्गठनको विषय प्रतिवेदनमा प्रवेश नगराएको प्रष्ट पार्नुभयो । कार्यदलले तयार पारेको साझा प्रतिवेदन आजै बस्ने पार्टी सचिवालय बैठकमा पेश हुनेछ । सचिवालयले नै प्रतिवेदनमाथि छलफल गरी थप निर्णय गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *