काठमाण्डौ – सशस्त्र प्रहरी बलले पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा धेरैको मोबाइल पार्टस् बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीले गएराति बर्दघाट नगरपालिका–४ बाट झाडीमा लुकाइराखेको सामान बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको नेतृत्वमा खटिएको टोलीले झण्डै ८० लाख ३० हजार रुपैयाँ बराबरको मोबाइलका पार्टसहरू मोबाइल ब्याट्री, टेम्पर ग्लास, एअरबर्ड, स्मार्ट वाच र स्पिकरलगायतका सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

