काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुद्दामा नेपालले विश्वसामु नेतृत्वदायी भूमिका लिनुपर्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा ‘द ग्रीन टेबल’ को १८औँ श्रृङ्खला ‘हिमचुलीको हलचल : भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा उहाँले जलवायु परिवर्तनको मुद्दालाई नेपालले कसरी हेर्छ ? यसमा साझा दृष्टिकोण कुन रूपमा राख्छ ? भन्नेतर्फ साझा दृष्टिकोण बन्नुपर्नेमा जोड दिनुभएको छ ।
विश्व मञ्चमा भाषण गरेर फर्किने मात्रै नभई कार्बन उत्सर्जन कम गरिरहेका विश्वका साना सबै देशहरूको नेतृत्व गर्न सक्ने योजना र अभियानमा नेपाल लाग्नुपर्ने उहाँको भनाइ छ । यसमा कूटनीतिक परिपक्वता, सहकार्यको बृहत्तर भावना राख्नुपर्ने भन्दै कांग्रेस नेता विश्वप्रकाशले प्रधानमन्त्रीको सन्देशबाट नेपालले सिङ्गो विश्वकै नेतृत्व गर्न सक्छ भन्ने सन्देश पनि दिनुपर्ने उल्लेख गर्नुभयो ।
महासभामा प्रधानमन्त्रीले जलवायु परिवर्तनको कारण हामीले भोग्नुपरेको मानवीय क्षति र भौतिक क्षतिको तथ्यपूर्ण विवरण राख्नुपर्ने उहाँले बताउनुभयो ।

