सैनामैना, असाेज, ०१— साझा हस्पिटल प्रा.लि. बुटवल र सैनामैना विद्युतीय व्यवसायी संघबीच संघका सदस्य, व्यवसायी, कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता भएको छ।
सम्झौताअनुसार संघका साधारण तथा आजीवन सदस्य, संघमा दर्ता भएका व्यवसायी, दर्ता भएका पसल तथा फर्ममा कार्यरत कर्मचारी र कामदार तथा उनीहरूका परिवारले साझा हस्पिटलबाट उपचार सेवा लिँदा विभिन्न सेवामा छुट पाउनेछन्।
बिहीबार भएको सम्झौतामा साझा हस्पिटलका अध्यक्ष गोविन्द खनाल र सैनामैना विद्युतीय व्यवसायी संघका अध्यक्ष पारिश्वर श्रेष्ठ (पारस) ले हस्ताक्षर गरेका छन्। सम्झौता २०८३ साल भदौ २५ गतेदेखि लागू भई एक वर्षसम्म कायम रहनेछ।
सम्झौताअनुसार प्रयोगशाला परीक्षणमा २२ प्रतिशत तथा अप्रेसन, बेड, एक्स–रे, ईसीजी र यूएसजी सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ। यस्तै, औषधि तथा सर्जिकल सामग्रीमा १२ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
छुट सुविधा लिन लाभग्राहीले सैनामैना विद्युतीय व्यवसायी संघले जारी गरेको आधिकारिक परिचयपत्र वा संघकाे सिफारिसपत्र हस्पिटलमा पेश गर्नुपर्नेछ।
सम्झौतामा लाभग्राहीका रूपमा सदस्य तथा व्यवसायीसहित उनीहरूका बुवा, आमा, श्रीमान्/श्रीमती, छोरा र छोरीलाई समेत समेटिएको सैनामैना विद्युतीय व्यवसायी संघका अध्यक्ष पारिश्वर श्रेष्ठ (पारस)ले बताउनु भयाे ।
यस सम्झौताले सैनामैना विद्युतीय व्यवसायी संघमा आवद्ध भएका सदस्य र उनिहरूका परिवारले ठुलाे राहत पाउने संघका संरक्षक मधुसूदन श्रेष्ठले बताउनु भयाे ।

