काठमाण्डाै – ‘अक्सफोर्ड इकोनोमिक्स’ ले सार्वजनिक गरेको ‘ग्लोबल सिटिज इन्डेक्स–२०२६’ मा अमेरिकाको न्युयोर्क विश्वका उत्कृष्ट शहरको शीर्ष स्थानमा रहेको छ । न्युयोर्क १०० अङ्कसहित पहिलो नम्बरमा रहेको हो ।
विश्वका १ हजार ठूला शहरलाई अर्थतन्त्र, मानवीय क्षमता, जीवनस्तर, वातावरण र शासन गरी पाँच वटा आधारमा मूल्याङ्कन गरेर सूची तयार पारेको अग्रणी स्वतन्त्र विश्वव्यापी परामर्शदाता कम्पनीले जनाएको छ ।
‘अक्सफोर्ड इकोनोमिक्स’ का अनुसार उत्कृष्ट शहरको दोस्रो नम्बरमा ९८.८ अङ्कसहित बेलायतको लन्डन र तेस्रो नम्बरमा ९३.४ अङ्कसहित फ्रान्सको पेरिस रहेका छन् ।
यो सूचीमा उत्कृष्ट १० शहरमध्ये पाँच वटा अमेरिकाका रहेका छन् । सूचीमा अमेरिकाको सियाटल चौथो र सान फ्रान्सिस्को पाँचौँ स्थानमा छन् । यस्तै आयरल्यान्डको डब्लिन छैटौँ, अमेरिकाकै बोस्टन सातौँ र सान होजे आठौँ, जापानको टोकियो नवौँ तथा स्विट्जरल्यान्डको ज्युरिच दशौँ स्थानमा रहेका छन् ।
उत्कृष्ट शहरको सूचीमा नेपालको सङ्घीय राजधानी काठमाण्डौ ६८७औँ स्थानमा रहेको छ । मूल्याङ्कन गरिएका पाँचमध्ये कुनै पनि सूचकमा काठमाण्डाै विश्वका शीर्ष ५०० शहरभित्र पर्न सकेको छैन ।
सूचीअनुसार काठमाण्डौ अर्थतन्त्रमा ६७०, मानवीय क्षमतामा ५६२, जीवनस्तरमा ८४०, वातावरणमा ६३९ र शासनमा ६३५औँ स्थानमा रहेको छ ।

