कारागारका कैदीले गरे बाढीपीडितलाई ८३ हजार रुपैयाँ सहयोग

पाल्पा : पाल्पा कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि ८३ हजार सहयोग उपलब्ध गराएका छन्। कारागारमा रहेका कैदीबन्दीले आफ्नो क्षमताअनुसार रकम संकलन गरी बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग गरेका हुन् ।

हाल पाल्पा कारागारमा २२४ पुरुष र १३ महिला गरी २३७ कैदीबन्दी छन्। संकलित रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको कारागारका प्रशासक भगवानभक्त अर्यालले जानकारी दिए। कैदीबन्दीले कारागारभित्र उद्यमशिलताका काम गर्दै आएको र त्यहीबाट आर्जन गरेको केही रकमबाट बाढीपीडितलाई सहयोग गरेका उनले बताए।

‘उनीहरूको सहयोगको आकार ठूलो नहुन सक्छ, तर विपद्का बेला पीडितप्रति देखाएको मानवीय समवेदना भने अर्थपूर्ण छ’, अर्यालले भने। कारागारभित्र कैदीबन्दीले मुढा बनाउने, सिलाइँबुनाइ, डोको नाम्लो बनाउने, बात्ती बनाउनेलगायत सीपमूलक काम गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *