काठमाण्डाै – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेट अगाडि गरेको प्रदर्शनको विरोध गरेको छ ।
प्रतिनिधिसभाको आजकाे बैठकमा रास्वपा महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाउनुभएको हो । उहाँले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताउनुभयो ।
आचार्यले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि उल्लेख गर्नुभयाे ।उहाँले तथ्यमा आधारित भएर बोल्ने सांसदलाई संसद्ले निर्भीक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म तिम्रो कुरामा असहमत हुन सक्छु तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु–भोल्टायरको यो भनाइले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको उत्कृष्ट मापदण्ड रहेको कुरालाई औँल्याउँछ । नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ । तर फरक विचार राखेकै कारण सांसदहरूविरुद्ध खुल्लमखुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने, रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारजेयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । म चाहन्छु, यो सदनले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस् – बोल्न नडराउनू, हामी तपाईँसँगै छौँ ।’
गएकाे भदाै २३ गते जेन–जी शहीद स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई लिएर सचेतक धितालले प्रश्न उठाउनुभएको थियो । धितालको याे अभिव्यक्तिले जेन–जी शहीदको अपमान भएको भन्दै शहीद परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो ।

