काठमाण्डौ – देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, नुवाकोट, काठमाण्डौ, भक्तपुर, ललितपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ ।
वर्षाका कारण जलसतह बढ्न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
विशेषगरी नदी तटीय क्षेत्र, खोला किनार र बाढीको जोखिममा रहेका बस्तीका बासिन्दाले वर्षाको समयमा अनावश्यक रूपमा नदी तथा खोला पार नगर्न र जलसतह बढेको अवस्थामा सुरक्षित ठाउँतर्फ जान महाशाखाले अनुरोध गरेको छ ।
महाशाखाले मौसम तथा बाढीसम्बन्धी पछिल्ला सूचना निरन्तर हेर्न र सम्बन्धित निकायले जारी गर्ने पूर्वसूचनालाई ध्यान दिन पनि आग्रह गरेको छ ।

