काठमाडौ| : एसीसी पुरुष प्रिमियर कप २०२६ अन्तर्गत क्वालालम्पुरस्थित बायुआमास क्रिकेट ओभलमा भइरहेको खेलमा हङकङ, चीनले नेपाललाई जितका लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रनको सम्मानजनक योगफल तयार पारेको हो।
हङकङको पारिलाई उकास्न मध्यक्रमका ब्याटर बाबर हयातले उत्कृष्ट शतकीय पारि खेले। उनले १२६ बलमा ७ चौका र ७ छक्काको मद्दतमा अविजित ११७ रनको विस्फोटक रन बनाए।
सुरुवाती चरणमा १३३ रनमा ७ विकेट गुमाएर संकटमा परेको हङकङलाई बाबर हयात र इहसान खानले आठौँ विकेटका लागि १२८ रनको अविजित साझेदारी गर्दै बलियो स्थितिमा पुर्याकए। इहसान खानले ४६ बलमा ५ चौका प्रहार गर्दै ३५ रन बनाए।
हङकङका लागि अन्य ब्याटरमा शाहिद वासिफले ४९ बलमा ४५ रन, जिसान अलीले १५ रन तथा अंशुल राथले १३ रनको योगदान दिए।
नेपालका तर्फबाट स्पिनरहरूको प्रदर्शन उत्कृष्ट रह्यो। सदीप लामिछानेले १० ओभरमा ४४ रन खर्चिएर मुख्य ४ विकेट हात पारे भने शेर मल्लले १० ओभरमा १ मेडनसहित मात्र २७ रन खर्चेर ३ विकेट लिए। करण केसी (६२ रन), ललित राजवंशी (४७ रन), दीपेन्द्र सिंह ऐरी (३६ रन) र गुल्शन झा (४० रन) भने विकेटविहीन रहे।
नेपालले केही बेरमा २६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्दैछ।

