काठमाण्डौ – काठमाण्डौ उपत्यकामा अस्ति बिहीबारदेखि लगातारजसो वर्षा भइरहेको छ ।
नेपाल मौसम विज्ञान विभागका अनुसार बीचमा केहीबेर रोकिए पनि धेरैजसो समय वर्षा भइरहेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसबिच काठमाण्डौ उपत्यकाभरजसो ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । लगातारको झरीले सडक आवागमन तथा नागरिकका दैनिक कामकाजमा बाधा पुर्याएको छ भने प्रमुख नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा वृद्धि भएको छ ।
काठमाण्डौ उपत्यकाका प्रमुख नदीहरू बागमती, विष्णुमती, धोबी खोला, मनोहरा लगायतका जल सतह बढेको छ । नदी तटीय क्षेत्र तथा होचा बस्तीहरूमा पानी पस्ने जोखिम बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ । उपत्यकाका मुख्य सडकहरूमा पानी जम्दा यातायात व्यवस्था प्रभावित बनेको छ ।

