जोर्डनको दक्षिणी सहर कराकमा रहेको एक ग्रिक अर्थोडक्स चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको ज्यान गएको छ ।
४० जना घाइते भएका छन् । राजधानी अम्मानबाट झन्डै १८० किलोमिटर दक्षिणमा रहेको चर्चमा अन्त्येष्टि शुरु भएको १५ मिनेटमै नचिनेका मानिसले अन्धाधुन्ध गोली चलाएका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । आक्रमणपछि जोर्डन सरकारले देशभर तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्रधानमन्त्री जाफर हसनले घटनालाई अतिवाद र आतङ्कवादी विचारधाराको परिणाम भन्दै निन्दा गर्नुभएको छ । उहाँहरूले घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याएर कडा सजाय दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्नुभएको छ । प्रवक्ता स्टेफन डुजारिकमार्फत विज्ञप्ति जारी गर्दै महासचिव गुटेरेसले धार्मिक स्थलहरू शान्तिका केन्द्र हुनुपर्ने र सर्वसाधारणमाथिको आक्रमण स्वीकार्य नहुने बताउनुभयो । लेबनान, सिरिया, इजिप्ट र ओमानलगायत देशहरूले पनि आतङ्कवादी आक्रमणको भर्त्सना गरेका छन् ।

