काठमाण्डाै – मनास्लु लार्केपास, लाङटाङ र गोसाइँकुण्ड पदयात्रा खुला भएका छन् । ट्रेकिङ एजेन्सिज् एसाेसिएशन अफ नेपाल (टान) ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ ।
टानले सूचना निकालेर बूढीगण्डकीमा आएको बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड, पुल तथा टी–हाउस लज धार्चे र गोरखाको चुमनुब्री गाउँपालिकाले संयुक्त रूपमा मर्मत गरेसँगै आशिंक रूपमा सञ्चालनमा आएको जनाएको छ ।
पदयात्रीले माछाखोलासम्म गाडीमार्फत पुगेर जगत, न्याकफेदी र लार्केपास तर्फको यात्रा गर्न सक्ने टानले जनाएको छ । यस्तै यारु बगरको नियमित पदमार्गमा केही अफ्ठयारो बाँकी रहेकाले १० मिनेटको वैकल्पिक मार्ग प्रयोग गर्नसमेत टानले आग्रह गरेको छ ।
कठिन रहेकाले पदमार्गको खण्ड निर्माणका लागि धार्चे र चुमनुब्री गाउँपालिकाले काम गरिरहेको टानले जनाएको छ । टानका अनुसार यो पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएपछि चुम उपत्यका पदयात्रा मार्ग अहिले बन्द रहेको छ । पुल मर्मतको काम सकेर एक हप्ताभित्र पदमार्ग पुनः सञ्चालनमा आउने गोरखा चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
यस्तै लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि खुला रहेका छन् । गएको भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलिब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको टानले जनाएको छ ।
पहिलो विकल्पअनुसार काठमाण्डौ हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याप्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ । यसैगरी दोस्रो विकल्पमा काठमाडौ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड– ठूलोस्याप्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ ।
पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा शुरू गर्नुअघि पदमार्गको पछिल्लो अवस्था तथा मौसमबारे बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन टानले आग्रह गरेको छ ।

