काठमाण्डौ – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको डेढ महिनापछि गोरखाको बुढीगण्डकी नदीमा उस्तै प्रकृतिको बाढी आएको छ ।
आज आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीचमा पहिरो खसेर थुनिएपछि बुढीगण्डकीमा एक्कासी लेदोसहितको ठूलो बाढी आएको हो ।
चुमनुब्रीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढी आएको बताएका छन् । एकाबिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन् ।
बाढीले चुमनुब्री र धार्चेका केही घर तथा पुल बगाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकी नदीमा आकस्मिक बाढीको सतह घटबढ भइरहेको छ ।
बुढीगण्डकी नदी त्रिशूलीमा मिसिने ठाउँ धादिङको बेनीघाटसम्म जोखिम रहेको महाशाखाले जनाएको छ ।

