सैनामैनामा १ करोड ६० लाख बराबरको आईसिटी शैक्षिक सामग्री वितरण

सैनामैना नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सूचना तथा सञ्चार प्रविधि (आईसिटी) सामग्री वितरण गरेको छ ।

प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाइलाई प्रभावकारी, आधुनिक र कक्षाकोठालाई सहज बनाउन नगरपालिकाले कुल १ करोड ६० लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।

नगरपालिकाले नगरभित्रका १७ वटा सामुदायिक विद्यालयलाई आवश्यकताका आधारमा ५३ थान स्मार्टबोर्ड, २८ थान डेस्कटप कम्प्युटर, १० थान ल्यापटप र ११ थान ’थ्री–इन–वान’ प्रिन्टर प्रदान गरेको शिक्षा शाखा सहायक गणेश खनालले जानाकारी दिनुभयो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी तथा शिक्षा शाखा प्रमुख टिकाराम शर्माले संयुक्त रूपमा सम्बद्ध विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले प्रविधिको उच्चतम प्रयोग गरी सामुदायिक विद्यालयको पठनपाठनलाई प्रविधिमैत्री र सिकाइलाई थप प्रभावकारी बनाउन आईसिटी सामाग्रीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख विना रानाले आधुनिक युग अनुसार शिक्षामा प्रविधिको पहुँँच विस्तार गर्दै लैजाने नगरको नीति अनुरुप सामग्री वितरण गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले विद्यालयहरूमा प्रविधिको पहुँच विस्तार भएसँगै यसको सही र अधिकतम सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *