विपन्न वर्गलाई लक्षित निःशुल्क स्वास्थ्य पोर्टलबाट २ हजार भन्दा धेरैले उपचार सेवा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क स्वास्थ्य पोर्टलमार्फत उपचार सेवा लिनेको संख्या दुई हजार २०० नाघेको छ । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको सङ्ख्या बढ्दै गएको छ । शुरुमा १३ अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या २३८ पुगेको मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । विपन्न बिरामी वा उनीहरूका आफन्तले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निःशुल्क शय्या उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ । साथै अस्पतालमा उपलब्ध रगतसम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिनेछ । 

संविधानमा व्यवस्था गरिएको निःशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो । मन्त्रालयका अनुसार देशभरका अस्पतालमा २८ हजार ७०४ शय्याको १० प्रतिशत बराबर तीन हजार ३८० निःशुल्क शय्या उपलब्ध छन् । तीमध्ये ५९३ शय्यामा विपन्न बिरामीले निःशुल्क उपचार पाइरहेका छन् भने अझै दुई हजार ७८७ शय्या खाली छ ।  

प्रवक्ता अधिकारीका अनुसार पोर्टल सञ्चालनपछि अहिलेसम्म एक हजार ७६० भन्दा बढी व्यक्तिले निःशुल्क शय्या सुविधा पाएका छन् । देशका ठूला अस्पतालमध्ये सबैभन्दा बढी निःशुल्क शय्या बिपी कोइराला क्यान्सर अस्पतालमा उपलब्ध छ । निःशुल्क शय्याको सबैभन्दा बढी प्रयोग भने वीर अस्पतालमा भएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।