भारतका वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भाग ‘ब्रेनस्टेम’ को अहिलेसम्मकै सबैभन्दा विस्तृत त्रि–आयामिक नक्सा तयार पारेका छन् । मद्रासमा रहेको सुधा गोपालकृष्णन ब्रेन सेन्टरका वैज्ञानिकहरूले ‘एन्कर’ नामको यो नक्सा कोषीय स्तरसम्मै पुर्याएका हुन् ।
५०० भन्दा धेरै तन्तु नमूनाका आधारमा तयार यो नक्सामा २०० भन्दा धेरै स्नायु–कोष समूह र स्नायु मार्गहरू पहिचान गरिएको छ । यसले एमआरआईमा देखिने सम्पूर्ण मस्तिष्कदेखि एउटा–एउटा स्नायु कोषसम्म हेर्न सकिने बनाएको प्रतिवेदनलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।
यो उपलब्धि विज्ञानका लागि ठूलो फड्को मानिएको छ । ब्रेनस्टेमले सास फेर्ने, मुटु धड्कने, निद्रा र चेतनालाई नियन्त्रण गर्छ । यसको संरचना अत्यन्त घना भएकाले यसलाई विस्तृत रूपमा नक्साङ्कन गर्न सधैँ चुनौतीपूर्ण रहँदै आएको थियो ।
विज्ञहरूका अनुसार यो नक्साले पार्किन्सन, स्ट्रोक र अल्जाइमर्स लगायतका स्नायुसम्बन्धी रोगहरू बुझ्न मद्दत गर्नेछ । साथै शल्यचिकित्सकहरूलाई ब्रेनस्टेममा शल्यक्रिया गर्दा थप सुरक्षित बनाउन पनि यसले सहयोग पुर्याउने विश्वास गरिएको छ ।
झन्डै २० जना वैज्ञानिकले १८ महिनासम्म यो अनुसन्धानमा काम गरेका थिए भने अहिले २०० जनाभन्दा धेरै अनुसन्धानकर्ता र प्राविधिक यस केन्द्रसँग जोडिएका छन् ।
केन्द्रले आउँदा दिनमा थप १०० मस्तिष्कको अध्ययन गर्ने योजना बनाएको छ । यो नक्सा विज्ञानहरूका लागि अनलाइनमा निःशुल्क उपलब्ध गराइएको छ ।