असार ३१, काठमाण्डौ – ललितपुरको पाटन अस्पतालले विस्तार गर्न लागेको १२ सय शय्या क्षमताको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदनमा सुझाव पठाउन वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको छ ।
प्रतिवेदनमा सात दिनभित्र सुझाव दिनका लागि वातावरण मन्त्रालयले सूचना निकालेर आह्वान गरेको हो । सुविधा सम्पन्न पानी भण्डारण तलासहितको अस्पतालको भवन निर्माणपछि दैनिक चार लाख लिटर पानी उपभोग गर्ने गरी संरचना निर्माण हुने प्रतिवेदनमा उल्लेख छ । साथै अस्पतालमा फोहोरमैला व्यवस्थापन, ठोस फोहोरमैला व्यवस्थापन, सवारी पार्किङ र हरीयाली बगैँचा निर्माण लगायतका संरचना समेत निर्माण हुने र यसको वातावरणीय प्रभाव मूल्याङ्कन ईआइए समेत भएको बारेमा प्रतिवेदनमा उल्लेख छ ।
वातावरण संरक्षण नियमावली, २०७७ नियम ९ को ६ अनुसार प्रतिवेदनमा सुझाव दिन पनि सर्वसाधारण तथा संस्थालाई मन्त्रालयले सूचना निकालेको हो । ईआईए प्रतिवेदन वातावरण मन्त्रालयसँगै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ललितपुर महानगरपालिका, जिल्ला समन्वय समिति कार्यालय, आदिवासी तथा जनजाती महासङ्घ नेपाल लगायतको वेभसाइटमा राखिएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै स्वामित्वमा रहेको जग्गामा ११ तल्लाको भवन निर्माण गर्न लागेको हो । छ सय शय्या यसअघि नै निर्माण भइसकेकोमा छ सय शय्या थप गर्न लागेको हो ।