अवैध संस्थामा काम गरेको भन्दै ३ चिनियाँ डाक्टरको दर्ता निलम्बन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ - नेपाल मेडिकल काउन्सिलले अनुमति नभएको संस्थामा आवद्ध तीन जना चिनियाँ डाक्टरहरूको अस्थायी दर्ता निलम्बन गरेको छ । अनुमति नभएको संस्थामा आवद्ध भई चिकित्सा अभ्यासमा संलग्न रहेका उनीहरूको दर्ता निलम्बन गरेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । 

काउन्सिलले विज्ञप्ति निकालेर डा उ सिएनलिन, डा चेन सिएलिन र डा लिउ जिकिनको अस्थायी दर्ता निलम्बन गरेको जनाएको छ । ती डाक्टरहरूले  भिसा सर्तविपरित अवैध संस्थामा काम गरेको पाइएकाले गैर पर्यटकीय भिसा तथा श्रम इजाजत खारेजीको लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेश गरेको काउन्सिलले जनाएको छ । उनीहरूले दर्ता नभएको बालुवाटारको मारिया हस्पिटलमा काम गर्दै आएका थिए । 

उजुरीपछि गएको  जेठ १ गते काउन्सिलबाट गएको टोलीले निरीक्षण गरेपछि गैर कानुनी काम भएको पत्ता लागेको थियो । काउन्सिलले विना दर्ता सञ्चालित त्यस अस्पताललाई भौतिक रूपमा बन्द गर्न तथा कारबाही गर्न काठमाण्डौ महानगर, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको जनाएको छ । 

यस्तै काउन्सिलले त्यहाँ कार्यरत केही नेपाली डाक्टरलाई समेत तीन दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।