काठमाण्डौ — स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले वीर अस्पतालमा कुचो लगाएर सरसफाई सप्ताह २०८३ को शुभारम्भ गर्नुभएको छ । प्रशासनिक सेवालाई स्वच्छ, मर्यादित र वातावरणमैत्री बनाउने उद्देश्यसहित सरकारले देशभर आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुरु गरेको हो ।
यो अभियान जेठ १ गतेसम्म सङ्घ, प्रदेश र पालिकाका सबै सरकारी कार्यालयहरूमा सञ्चालन हुनेछ । अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत विशेष मार्गदर्शन जारी भएको छ ।
निर्देशनअनुसार सबै सरकारी निकायलाई सरसफाइ मापदण्ड कडाइका साथ लागू गर्दै कार्यस्थललाई स्वच्छ र सुरक्षित बनाउने लक्ष्य राखिएको छ । मार्गदर्शनअनुसार कार्यालय परिसर, सेवा क्षेत्र, प्रवेशद्वार, सूचना बोर्ड तथा नागरिक बडापत्रलाई व्यवस्थित र आकर्षक बनाइनेछ ।
साथै भित्ताहरूको मर्मत तथा रङ्गरोगन गर्ने, अव्यवस्थित सामग्री हटाउने र फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ । फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउने गरी कम्तीमा दुई प्रकारका डस्टबिन अनिवार्य गरिएको छ ।
खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ भने पुराना र काम नलाग्ने सामग्रीको उचित व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ । अभियानको औपचारिक उद्घाटन गर्दै मन्त्री मेहेताले सरकारी सेवा सुधारको आधारभूत पक्षका रूपमा सरसफाईलाई अघि बढाउनुपर्ने बताउनु भएको छ ।
सरकारले यो अभियानलाई केवल औपचारिक कार्यक्रम नभई सरकारी सेवा प्रवाहलाई प्रभावकारी, स्वच्छ र सेवाग्राहीमैत्री बनाउने दीर्घकालीन प्रयासका रूपमा अघि सारेको छ ।