काठमाण्डाै – सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चौधरीले २ करोड २६ लाख १३ हजार १३३ रुपैयाँ ३६ पैसाको अवैध सम्पत्ति आर्जन गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अवैध सम्पत्ति जफत प्रयोजनका लागि शैलेन्द्रकी श्रीमती अर्पणा कुमारीलाई पनि आयोगले विपक्षी बनाएको छ ।
२०६५ सालमा सरकारी सेवामा प्रवेश गरेका चौधरीले २०८२ साल असारसम्ममा ४ करोड ९८ लाख ६८ हजार रुपैयाँभन्दा धेरैको खर्च तथा लगानी गरेको पाइएको र यसमध्ये २ कराेड २६ लाख १३ हजार रुपैयाँ अवैध आम्दानी पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएकोले कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको अख्तियारले जनाएको छ ।