सैनामैना,असार २६। रुपन्देहीको सैनामैना नगरपालिकाले सेबा शुल्क र करमा बृद्धि गरेको समाचार रुपन्देहीका मिडियाहरुमा प्रकाशन तथा प्रशारण भएसंगै सैनामैनाका आम नागरिक तथा राजनैतिक दलहरुले चासो ब्यक्त गर्दै कर बृद्धि फिर्ता गर्न नगरपालिकालाई दवाव दिएका छन ।
रूपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि सैनामैनाका आम नागरिकहरुको तर्फबाट नागरिक समाजले बृद्धि गरिएको सेवा शुल्क र कर फिर्ता गर्न माग गरेको हो ।
नागरिक समूहको तर्फबाट मंगलवार सैनामैना नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै बृद्धि गरिएको सेवा शुल्क र कर फिर्ता गर्न माग गरिएको छ । मंगलबार सैनामैनाका नागरिकका तर्फबाट आम नागरिक समूह सैनामैना र स्थानीयले बृद्धि गरिएको सेवा शुल्क र कर फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन ।
नागरिक समूह सैनामैनाका संयोजक डोलराज भण्डारीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै करको दायरा बढाउनु पर्नेमा करको दर बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल बृद्धि गरिएको कर फिर्ता लिन माग गर्नुभयो ।
उहाँले जनताका आधारभूत आवश्यकताको रुपमा रहेका नागरिकता, नाता प्रमाणित जस्ता सेवा निशुल्क हुनुपर्नेमा कर बढाउनु खेदजनक छ भन्नुभयो ।
उता नागरिक अभियन्ता डाक्टर निकोलस भुसाल र महेश अधिकारीले सैनामैनाको आन्तरिक राजस्व नगरको कुनैपनि विकासमा खर्च नभएको बताउँदै चालूतर्फ मात्रै खर्च गरिएकोले नगरपालिका कर बढाउनेतर्फ भन्दा पनि सैनामैनामा निर्माण सम्पन्न भएको अस्पताल संचालन गर्नेतर्फ ध्यान दिन नगरपालिकालाई सुझाव दिनुभयो । नगरबासी आर्थिक मन्दी लगायतको अवस्थाबाट गुज्रिरहँदा अहिले र बढाउनुले जनतामा राम्रो सन्देश नजाने बताउँदै उहाँहरुले ब्यवसायीको सटरको कर बृद्धि गरिएको छ तर आर्थिक मन्दीका कारण सटर खाली हुँदै गएको अवस्थाले नगरपालिकाले गरेको कर बृद्धि न्यायोचित छैन भन्नुभयो ।
सैनामैना नगरपालिकाले कार्यपालिकाको बैठकको निर्णय भन्दै नागरिकता सिफारिसमा सत प्रतिशत सेवा शुल्क बृद्धि गरेको छ । त्यसैगरी खानेपानी र विद्युत सिफारिसमा पनि सत प्रतिशत शुल्क बृद्धि गरिएको छ भने नाता प्रमाणितमा पनि शत प्रतिशत बृद्धि गरिएको छ ।
त्यसैगरी बैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रयोजनको अंग्रेजी सिफारिसमा पनि सत प्रतिशत सेवा शुल्कमा बृद्धि गरिएको छ ।
उता नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले कर बृद्धि नगरिएको दावी गर्दै सानो सानो दस्तुरलाई समायोजन गरिएको बताउनुभयो । उहाँले कर बढाएको अर्थमा बुझ्न नहुने भन्दै सामान्य दस्तुरमा हेरफेर मात्रै गरिएको दावी गर्नुभयो । नगर प्रमुख शर्माले सय पचास रुपैया दस्तुर हेरफेरलाई जनतालाई धेरै भार पर्नेगरि कर बढाएको अर्थमा बुझ्न नहुने उल्लेख गर्नुभयो ।
सैनामैना नगरपालिकाले विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर सत प्रतिशतसम्म बृद्धि गरेको हो । सेवा शुल्क र कर बढाएपछि सैनामैनाका राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी र स्थानीय जनताले तत्काल बृद्धि गरिएको सेवा शुल्क र कर फिर्ता गर्न माग गरेका छन ।