देशमा केही भएन भनेर नसरापौं : पूर्वमन्त्री झाँक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पूर्व सहरी विकासमन्त्री तथा नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले देशमा केही भएन भनेर सराप्दै  हिड्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

गर्भधारणदेखि कक्षा १२ पढ्ने बेलासम्म राज्यले एक जना नागरिकको लागि थुप्रै लगानी गर्ने तर प्लस टु सकेर देशले केही गरेन भनेर देश बाहिर गाली गर्दै जाने प्रवृतिको अन्त्य गरेर सकारात्मक सोँच र भए गरेका विकासका कामको प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । 

उहाँले गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै देशको नेतृत्व गर्ने सञ्चालकहरु उत्पादन गर्ने स्थानीय माटो भएकाले कक्षाकोठाको भित्रको सिकाइ, अस्पताल भित्रको चेकजाँच र घरभित्रको अनुशासनमा कुनै सौदावाजी गर्न नहुने बताउनुभयो । गुल्मीको धुर्कोट गाउँपालिका १ र २ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएका छन् । केही दिन पहिले गुल्मीकै पहिलो पटक धुर्कोट गाउँपालिका १ को नयाँगाउँ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको थियो ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, घोषणा कार्यविधि २०७९, स्थानीय सरकार सञ्चालन ऐन २ट०७४, बालबालिका सम्बन्धि ऐन २०७५ ले निर्दिष्ट गरेका सूचक र तहगत चरणहरु पूरा गरेपछि पिपलधारालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । 

घोषणा गर्नको लागि वडाले २०८१ असोज ९ गते घोषणाका २८ सूचकहरुको बारेमा अभिमुखीकरणसम्बन्धि कार्यक्रम सञ्चालन गरेको, बालवस्तुगत विवरण किताब तयार गरी पालिका र वडाको प्रोफाइल तयार गरी तथ्यांकअनुसार काम गरेको, घोषणाको दीगोपनाको लागि समुदायस्तरमा विभिन्न समतिहरु गठन गरिएको वडाध्यक्ष बाबुराम खड्काले जानकारी दिनुभयो ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले अब राज्यको लगानी मानवीय पुँजीमा हुनुपर्ने बताउनुभयो । त्यस्तै बालबालिका भविष्यका कर्णधार भएकोले आजको लगानीका आधारमा भोलिका जनशक्ति उत्पादन हुने भन्दै धुर्कोटले बालबालिकामाथि लगानी गरेको स्पष्ट पार्नुभयो। कार्यक्रमकै अवसरमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियानमा सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान पनि गरिएको थियो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।