मंसिर २४, काठमाण्डौ – घरेलु हिंसाका घटनामा मेलमिलाप गराउँदा पीडितले न्याय पाउँन नसकेको अधिकारकर्मीले बताएका छन ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आइतवार काठमाण्डौमा ओरेक नेपालले आयोजना गरेको ‘लैङ्गिक हिंसा प्रभावितको न्यायिक प्रक्रियामा देखिएको जटिलता तथा सम्बोधनमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा सहभागी अधिकारकर्मीले पिडक र पीडितलाई मेलमिलाप गराएर एकै ठाउँमा राख्दा पीडितले झनै हिंसा भोग्नुपरेको बताएका हुन ।
त्यस्तै उनीहरुको घरेलु हिंसाका घटनामा मेलमिलाप गराउन नहुने कुरामा जोड दिएका छन् । अधिवक्ता बिन्द्रा महर्जनले घरलु हिंसालाई सामान्यरुपमा लिएर जहाँ पनि, जसले पनि, जहिले पनि ,जसरी पनि ,जस्तो सुकै अवस्थामा पनि मिलाउँदा हुने जस्तो बनाइदिएर पीडितले न्याय पाउँन गाह्रो भएको बताउनु भयो । उहाँले जसले गर्दा पीडितलाई थप पीडामा पारिदिने, धेरै महिला मारिने र कतिपय आत्महत्याको अवस्थामा पुग्ने गरेको बताउनु भयो ।
त्यस्तै, महिला मानव अधिकार रक्षक श्यामकुमारी साहले धेरैजसो पीडितमा कानूनी साक्षरता नहुने हुँदा कानूनी सहजिकरण गर्नुको पर्नेमा उल्टै कानूनी मेलमिलाप गराउँदा पीडितले न्याय पाउँन नसकेको भनाइ राख्नु भयो ।
कार्यक्रममा प्रहरी वृत्त स्वयम्भूकी प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्दले प्रहरीमा आउने लैंगिक हिंसाका उजुरीमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका उजुरी रहेकाले प्रहरीले घरेलु हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर मेलमिलाप भन्दा पनि कानून अनुसार न्यायीक प्रकृया अगाडि बढाउन सकजिकरण गरेको बताउनु भयो ।
उहाँले प्रहरी कहाँ पुगेका कुनै पनि घरेलु हिंसाका उजुरीलाई मेलमिलाप नगराएको बताउनु भयो । सरकारी वकील गोपालप्रसाद रिजाल भने घरेलु हिंसाको घटनामा मेलमिलाप गराउने व्यक्ति तालीमप्राप्त र योग्य हुनुपर्ने बताउँदै दुवै पक्ष खुशी हुने गरी मात्रै मेलमिलाप गराउनु पर्ने बताउनु भयो ।