सैनामैना, मंसिर २२ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्राेहाको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको सैनामैना–४, मुर्गिया स्थित पर्राेहा सामुदायिक वनको प्रङगणमा एक कार्यक्रमको आयोजना गरि कार्यक्रम सम्पन्न भएको हो ।
आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले साे कार्यक्रममा बताउनु भयो। दिगो विकासका लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने उहाँको भनाई छ। किसानलाई उत्पादनसँगै उत्पादित वस्तुको सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।
अर्थतन्त्र सुधारका लागि साना किसानको भूमिका महत्वपूर्ण रहेको नेपाल कृषि सहकारी केन्द्रिय संघका सञ्चालक राम प्रसाद रेग्मीले बताउनु भयो । सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानलाई सँगसँगै अगाडि बढाए मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उहाँको भनाई छ ।
सहकारीले अन्तर समुहका माध्यमबाट ऋण लगानी, बचत, संकलन, सामाजिक तथा सामुदायिक कार्यक्रम, तालिम सञ्चालन लगाएतका काम गर्दै आएको संस्थाका अध्यक्ष परशुराम सापकोटाले बताउनु भयो । समुदायमा छरिएर रहेका पुंजिलाई एकिकृत गरि कृषि प्रविधिको माध्यमबाट लघु उद्यम संचालन गरी सदस्यहरुको आर्थिक तथा सामाजिक जिवनस्तर बृद्धि गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।
शेयर सदस्य वृद्धि, निस्कृया सदस्य विघटन शेयर रकम बृद्धि, बचत बृद्धि, पशुधन विमा, शेयर सदस्य किसानहरुकाे आय-आर्जन तथा कृषि उत्पादन लगाएतका कार्यक्रम लाई निरन्तरता दिईने संस्थाका प्रबन्धक दिनेश घिमिरेले बताउनु भयो ।
संस्थाले किसानहरुलाई ऋण प्रवाह संग संगै मलखाद विक्री वितरण, दुध संकलन तथा विक्री वितरणसेवा दिदै आएको छ ।
२०६० सालमा स्थापना भएको सहकारीमा ४ हजार २३ जना सेयर सदस्यहरू रहेका छन् । संस्थाले आर्थिक वर्ष ०७९/८० मा ८ करोड ९५ लाख ४४ हजार ६ सय ९३ रुपैयाँ जम्मा आम्दानी गरेको थियो । कुल खर्च तथा आयकर घटाएर सहकारीले एक करोड चार लाख ५२ हजार ६ सय ९७ रुपैयाँ खुद नाफा कमाउन सफल भएको संस्थाका लेखा समिति संयोजक जगन्नाथ गौतमले बताउनु भयो ।
संस्थाले आर्थिक वर्ष ०८०/८१ मा एक करोड ४२ लाख ७६ हजार नाफा कमाउने लक्ष्य लिएको छ । संस्थामा अहिले सम्म २ करोड ४८ लाख ११ हजार २ सय कुल चुक्ता शेयर पुंजी रहेको छ । सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका र मायादेवि गाउँपालिकालाई कार्य क्षेत्र बनाई संस्थाले काम गर्दै आएको छ ।