काठमाण्डौ – नेपालमा नर्सरी तथा पुष्प व्यवसायमा युवाहरूको सहभागिता बढ्दै गएको छ । विदेश जाने लहरबीच पनि केही युवाहरू स्वदेशमै यस क्षेत्रमा आफ्नो भविष्य खोजिरहेका छन् । सिन्धुलीका शिशिर दाहाल शारीरिक अपाङ्गता भए पनि भक्तपुरको दधिकोटमा नर्सरी व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भर बन्नुभएको छ ।
ललितपुरका दीपेन्द्र तुलाधारले कोभिड–१९ महामारीपछि विज्ञापन व्यवसाय छोडेर नर्सरी व्यवसायमा लाग्नुभएको छ र अहिले महिनाको ४५ लाख रुपैयाँसम्म कारोबार गरिरहेको बताउनुहुन्छ । नर्सरी व्यवसायी सङ्घ नेपालका अनुसार यस क्षेत्रमा ११ अर्ब ८३ करोड रुपैयाँको लगानी छ ।
३ हजार ९ सयभन्दा बढी व्यवसायीहरू आबद्ध यस क्षेत्रले वार्षिक ६ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार गर्दै १ लाख २० हजारलाई रोजगारी दिइरहेको छ ।
पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रवीन्द्र थापाका अनुसार नेपालले अहिले वार्षिक साढे ३ अर्ब रुपैयाँको पुष्प तथा आलङ्कारिक वस्तु आयात गर्दै आएको छ, जसलाई स्वदेशी उत्पादनबाट प्रतिस्थापन गर्न सकिने सम्भावना रहेको छ । भृकुटीमण्डपमा चलिरहेको तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो सोमवारसम्म चल्नेछ ।