काठमाण्डौ – बुद्ध एयरको जहाज दुर्घटनापछि अवरुद्ध बनेको झापाको भद्रपुर विमानस्थल बिहान १० बजेदेखि सञ्चालनमा आएको छ । प्राविधिक टोली बोकेको विमान भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।
बिहान लागेको हुस्सु हटेर भिजिबिलिटी क्लियर भएसँगै अन्य उडान–अवतरण भइरहेका विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिनुभयो । प्राविधिक टोलीले दुर्घटना भएको जहाजको अध्ययन गरिरहेको छ ।
भद्रपुर विमानस्थलमा गएराति ९ बजे बुद्ध एयरको जहाज दुर्घटना भएको हो । काठमाण्डौबाट भद्रपुरका लागि उडेको जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा ओभर रन भई घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।
जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर रहेकामा को–पाइलट र ६ जना जना यात्रु सामान्य घाइते भएका थिए । उनीहरु सबै सामान्य उपचारपछि घर फर्किएका छन् ।