कास्की – पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड) को म्याद तेस्रो पटक थप गरिएको छ । पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाण्डौसँग जोड्ने यो राजमार्ग एशियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा चार वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ ।
यसअघि दुई पटक म्याद थप हुँदा काम सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको मागअनुसार सडक विभागले आउँदो २०८३ असार १५ गतेसम्म समय थप गरेको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिनुभयो ।
पश्चिम खण्डमा ७५ प्रतिशत भौतिक प्रगति भएको छ । अब थपिएको समय चालू आर्थिक वर्षमा चार तथा ६ लेन सम्पूर्ण सडक खण्ड निर्माण सम्पन्न गर्ने लक्ष्य छ । पश्चिम खण्ड अन्तर्गत तनहुँको जामुनेबाट पोखराको सेती नदीपुलसम्मको ३८ दशमलव ८८ किलोमिटर पर्छ ।