विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ : महामन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने भन्दै पार्टी फुट्छ कि भनेर आशङ्का नगर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीभित्र एकताको विषयमा उठेका आशङ्काहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो ।

शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको बताउनुभयो । उहाँले चुनावअघि राष्ट्रिय सङ्कल्प गर्नुपर्ने नभए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने उल्लेख गर्नुभयाे ।
 

उहाँले भन्नुभयो, ‘विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । धेरै पार्टीका साथीहरूले आशङ्का व्यक्त गर्नुभएको छ, सबैलाई ढुक्क बनाउन चाहन्छु ।’

कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।