संगीत र कलाले जोड्दै सैनामैना महोत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सैनामैना, मंसिर १५ । रुपन्देहीको सैनामैनामा चलिरहेको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव संगीत र कला पारखीहरुका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने माध्यम बनेको छ । 
महोत्सवको क्रममा भैरहेको सैनामैना डान्सिङ आईडल, भजन प्रतियोगिता, ¥याप, नगरविद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा कला पारखीहरुका लागि पौरख तथा प्रतिभा प्रदर्शन गर्ने सशक्त स्टेज बनेको हो । 
त्यसका साथै महोत्सवमा स्थानीय कलाकारको प्रस्तुती र स्थानीय कला संस्कृतिको प्रस्तुतीले महोत्सवमा बेग्लै आकर्षण थपेको छ । 
महोत्सवका क्रममा सैनामैना डान्सिङ आईडलले स्थानीय कलाकार तथा कला क्षेत्रमा आउन चाहनेहरुका लागि सुनौलो अवसर प्रदान गरेको कलाकारहरु बताउँछन ।
महोत्सव आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खडकाले सैनामैनामा जारी महोत्सव कला प्रस्तुत गर्ने भरपर्दो स्टेज नपाएका कलाकारहरुका लागि गन्तब्य बनेको बताउनु भयो । 
महोत्सव आयोजक समितिका सदस्य सचिव तथा सैनामैना उद्योग बाणिज्य संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवले स्थानीय कला संस्कृतिको विकासका साथै राष्ट्रिय कलाकारहरुका साथै स्थानीय कलाकारहरुले आफ्नो कला प्रतिभा प्रस्तुत गर्ने केन्द्र नै बनेको बताउनु भयो ।    
आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवले सैनामैनासंगै यस क्षेत्रको उद्योग व्यापार र लोक संस्कृति संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जनाएका छन । 
सैनामैना नगर क्षेत्रमा लगानीको अवसर सिर्जना गर्न तथा कृषि, पर्यटन उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न महोत्सवले सघाउ पुग्ने आयोजकले विश्वास लिएका छन ।
महोत्सव मुल आयोजक समितिका संयोजक तथा सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवको सांस्कृतिक कार्यक्रमले दर्शकहरुलाई छुट्टै मनोरञ्जन प्रदान गर्नुका साथै स्थानीय कला संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । 
त्यसैगरी आयोजक समितिका सदस्य सचिव तथा संघका महासचिव लोकनाथ अधिकारीले महोत्सवबाट उद्योग व्यापारको प्रवद्र्धन, धार्मिक एवं सांस्कृतिक क्षेत्रको संरक्षण र लोक संस्कृतिको जगेर्ना गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । 
सैनामैना डान्सिङ आईडलकी संयोजक सिता क्षेत्रीले महोत्सवले स्थानीय कला संस्कृतिको विकास गर्न सहयोग पुगेको बताउँदै नयाँ र उदीयमान कलाकारलाई कला प्रस्फटन गर्ने माध्यम बनेको बताउनु भयो । 
उहाँले सैनामैना डान्सिङ आईडलले नयाँ नयाँ कलाका पारखी र प्रतिभाहरुलाई कला प्रस्तुत गर्ने स्थान दिएको बताउँदै यसबाट स्थानीय कलाकारका लागि ठूलो मौका भएको बताउनु भयो । 
सैनामैना डान्सिङ आईडलमा कूल २५ जना प्रतिष्पर्धीले कला प्रस्तुत गरेकोमा फाईनल प्रतिष्पर्धा भने १६ गते हुने भएको छ । 
महोत्सवका अवसरमा सैनामैनाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी, सैनामैनाको पर्यटकीय सम्भावना बारे गोष्ठी तथा अन्तरक्रिया लगायतका कार्यक्रम आयोजना गरिदै छ । 
त्यसैगरी राष्ट्रिय कलाकारको प्रस्तुतीले सैनामैना लोकमय र सांस्कृतिक केन्द्र नै बनेको छ । राष्ट्रिय ख्यातीप्राप्त कलाकारको आगमनले सैनामैना महोत्सवको शान नै बढेको स्थानीयहरु बताउँछन ।
प्रायः हरेक दिन साँझ हुने राष्ट्रिय कलाकारको प्रस्तुतीमा दर्शकहरु साँझ अबेरसम्म झुम्मिने गरेका छन । 
महोत्सवकै क्रममा चर्चित लोकगायक पशुपति शर्मा, गायक दुर्गेश थापा, रमेशराज भट्टराई, एलिना चौहान, दिपक गरौजा, बिष्णु श्रीपाली, श्याम राना, अनिल पहाडी, समीक्षा गैरे, नन्दु परियार, कुसुम परियार चन्द्र शर्मा, भरत क्षेत्री, रितु शाही लगायतका कलाकारले प्रस्तुती दिईसकेका छन भने शुक्रवार साँझ ज्योति मगर, प्रचण्ड जिसी र शिलु भट्टराईको प्रस्तुती रहने आयोजकले जानकारी दिएका छन ।  
महोत्सवको साढे ३ लाख दर्शकले अवलोकन गर्ने तथा ५ करोड बढीको कारोबार हुने अपेक्षा राखिएको आयोजकले जनाएका छन ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।