कञ्चन ५ ले गर्यो उत्कृष्ट १५ विद्यार्थीलाई नगद सहित सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चन |
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं ५ मा विद्यार्थी प्रोत्साहन, बधाई तथा प्रशंसापत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा नंं ५ को शान विद्यार्थीका लागि प्रोत्साहन भन्ने नाराका साथ गरिएको प्रोत्साहन, बधाई तथा प्रशंसा बितरण कार्यक्रममा वडाभित्रका सामुदायिक विद्यालयबाट एसईईमा ए प्लस ल्याएर उत्तिर्ण हुने विद्यार्थीका लागि ४ हजार र अन्य पालिका तथा वडाबाट ए प्लस ल्याई ५ नम्बर वडाका सामुदायिक विदालयमा भर्ना हुने विद्यार्थीका लागि २ हजारबाट पुरस्कृत गरिएको हो ।  
त्यस अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनका जनप्रतिनिधिहरुको चाहना कञ्चनका विद्यार्थीहरु हरेक क्षेत्र र स्थानमा अब्बल भएको देख्ने चाहना रहेको बताउँदै पढाईलाई जीवनको आधार भएकोले पढाईलाई अब्बल बनाउन सवै विद्यार्थीहरुसंग आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा पालिका उपाध्यक्ष मौसमी थापा मगरले एसईईमा पाएको सफलतालाई निरन्तरता दिन आग्रह गर्दै देशलाई अझैपनि दक्ष जनशक्तिको खाँचो रहेकोले विद्यार्थीहरुबाट देशले ठूलो अपेक्षा गरेको बताउनु भयो । उहाँले विद्यार्थीहरुलाई अझ अब्बल बन्न यो प्रोत्साहनले सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । 
यसैगरी कञ्चन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले आजका छोराछोरी हाम्रा सपना हुन र यी छोरा छोरीलाई बचाउन सकिएन भने र असल शिक्षा दिन सकिएन भने हाम्रो भविष्य निर्माण हुन सक्दैन भन्दै यही कुरा आत्मसाथ गरेर विदार्थी प्रोत्साहन कार्यक्रम लिएर आएको बताउनु भयो । उहाँले निर्वाचनका बेला आफूहरुले जनताका सामु गरेको प्रतिवद्धता पूरा गर्ने सन्दर्भमा भोलीको नेपालका सपना विद्यार्थीलाई थोरै भएपनि सहयोग र प्रोत्साहन गर्न कार्यक्रम गरिएको बताउनु भयो । 
कार्यक्रममा कञ्चन गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, पूर्व कार्यपालिका सदस्य पुरनबहादुर नेपाली र कुमारी घर्ती, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद शर्माले समेत प्रोत्साहनले विद्यार्थीमा उर्जा थपिने विश्वास ब्यक्त गर्नुभयो । 
वडा सचिव चोलाकान्त पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जनही ४ हजारबाट ६ जना र जनही दुई दुई हजारले  ९ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।