पुष १३,काठमाण्डाै – नेपालले एकै पटक दुई वटा भूउपग्रह (स्याटेलाइट) प्रक्षेपणको तयारी गरेकोमा एउटाको रद्द भएको छ भने अर्कोको तीन महिनाभित्र प्रक्षेपण गर्ने तयारी छ ।
‘डाँफे’ र ‘मुनाल’ नामका दुई वटा भूउपग्रहमध्ये ‘डाँफे’ को प्रक्षेपण स्थगित भएको र ‘मुनाल’ को प्रक्षेपण गर्ने तयारी भइरहेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का सचिव रवीन्द्रप्रसाद ढकालका अनुसार मुनालको चित्र भएको भूउपग्रह अबको तीन महिना अर्थात् मार्चसम्म प्रक्षेपण गर्ने तयारी छ । मुनालसँगै डाँफेको चित्र भएको भूउपग्रह प्रक्षेपण गर्ने तयारी भए पनि बजेट व्यवस्थापन हुन नसक्दा अहिलेलाई स्थगित गरिएको ढकालले बताउनुभयो ।
‘मुनाल’ को प्रक्षेपण भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) बाट हुनेछ । यो परियोजनाले नेपाललाई अन्तरिक्ष प्रविधिमा मात्र नभई विज्ञान र प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ । ‘मुनाल’ भूउपग्रहले पृथ्वीको तस्वीर सङ्कलन, जलवायु परिवर्तन र मौसमसम्बन्धी जानकारी सङ्कलन गर्ने नास्टका सचिव ढकालले जानकारी दिनुभयो ।
नेपालले पाँच वर्षअघि पहिलो पटक 'नानो स्याटेलाइट' अर्थात् सानो भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसलाई नेपालको अन्तरिक्ष यात्रामा महत्त्वपूर्ण उपलब्धि मानिएको थियो । त्यसको पाँच वर्षपछि नास्टले अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा ‘मुनाल’ भूउपग्रह बनाएर प्रक्षेपणको तयारी गरेको छ । ‘मुनाल’ भूउपग्रहको प्रक्षेपणले नेपाललाई अन्तरिक्ष विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ युगतर्फ प्रवेश गराउने नास्टको विश्वास छ ।
नास्टले भविष्यमा ठूला भूउपग्रह निर्माण, प्रविधिको विकास र सञ्चार प्रविधिको सुधारमा ध्यान केन्द्रित गर्ने योजना बनाएको सचिव ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार यस परियोजनाले विद्यार्थीहरूलाई अन्तरिक्ष विज्ञानमा सहभागी गराउन पनि प्रेरित गर्नेछ ।