२०८२ साल पौष १२ गते शनिबारका दिन सैनामैना मेमोरियल स्कुल, सैनामैना–१, रुपन्देहीमा पूर्व विद्यार्थी भेटघाट कार्यक्रम पश्चात् सैनामैना मेमोरियल भू.पू. विद्यार्थी मञ्च गठन गरिएको छ ।
पूर्व विद्यार्थी र वर्तमान विद्यार्थीबीच आत्मीय सम्बन्ध सुदृढ गर्दै अनुभव, प्रेरणा तथा सहकार्यको माध्यमबाट नेतृत्व विकास गर्ने तथा शैक्षिक संस्थाको समग्र विकासमा योगदान पुर्याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यालयका झण्डै ७० भन्दाबढी पूर्व विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो। सो अवसरमा सन्दीप भुसालको अध्यक्षतामा सैनामैना मेमोरियल भू.पू. विद्यार्थी मञ्चको कार्यसमिति गठन गरिएको छ। जसअन्तर्गत निकिता चौहान उपाध्यक्ष, सुधन पाण्डे सचिव, स्मृति खनाल कोषाध्यक्ष लगायतका पदाधिकारीहरू चयन गरिएको छ।
उक्त कार्यक्रम विद्यालयका प्राचार्य डी.बी. खत्री (प्रदीप) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रबन्ध निर्देशक जे.बी. क्षेत्री, विद्यालयका शैक्षिक सल्लाहकार लीलाधर घिमिरे तथा अतिरिक्त कार्यक्रम विभाग प्रमुख प्रकाश चौधरीले आतिथ्यता सहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य डी.बी. खत्री (प्रदीप) ले नवनिर्मित कार्यसमितिले आगामी दिनमा सर्वोत्कृष्ट कार्यक्रम सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
त्यसैगरी, कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सन्दीप भुसालले आगामी दिनमा विद्यालयलाई सम्पूर्ण विद्यार्थीहरुको साझा सिक्ने र सिकाउने साझा चौतारीको रुपमा अगाडि बढ्ने बताउनु भएको थियो । साथै अध्यक्ष भुसालले तत्कालै पहिलो बैठकबाट सल्लाहकार मनोनयन तथा विद्यालयले मनाउन थालेको रजत जयन्ती विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गर्दै सर्वपक्षीय सहयोग र सुझावको अपेक्षा व्यक्त गर्नुभएको थियो । कार्यक्रमहरूमा सक्रिय सहभागी भई कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उक्त अवसर प्रदान गरेकोमा विद्यालय प्रशासनलाई धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रमको सञ्चालन विद्यालयका सह–प्राचार्य पदम अर्यालले गर्नुभएको थियो भने विद्यालयका मिडिया कोअर्डिनेटर कमल खड्काले जानकारी दिनुभयो।