बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरेका छन् । ‘संग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको संघर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने । पूर्वप्रधानमन्त्री हसिना ‘एन्टी–डिस्क्रिमिनेसन स्टुडेन्ट मुभमेन्ट’का कारण गत अगस्ट ५ मा देश छाडेर भागेकी थिइन् । उनको बहिर्गमनपछि ८४ वर्षीय युनुस देशको मुख्य सल्लाहकारमा नियुक्त भएका थिए ।

हसिनामाथि डेढ दशक लामो शासनकालमा राजनीतिक विपक्षीहरूलाई नजरबन्दमा राख्ने र गैरन्यायिक हत्यालगायतका व्यापक मानवअधिकार उल्लंघन गरेको आरोप छ । बंगलादेशको एक अदालतले उनलाई पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ ।

हसिनालाई पतन गराउने आन्दोलनमाथि गरिएको चरम प्रहरी दमनका कारण कम्तीमा ७ सय जनाको ज्यान गएको थियो । अगष्ट ५ मा हसिना भागेसँगै सयौं आन्दोलनकारीले ‘दमनको प्रतीक’ भन्दै उनको निवासमा आक्रमण गरेका थिए । त्यसका साथै आन्दोलनकारीले हसिनाका बुबा तथा बंगलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घरमा रहेको संग्रहालयमा पनि तोडफोड गरेका थिए ।

बंगलादेशबाभागेपछि हसिना हालसम्म सार्वजनिक रूपमा देखिएकी छैनन् । ७७ वर्षीय हसिना अन्तिम पटक भारतको राजधानी नयाँदिल्ली नजिकैको सैन्य हवाई अखडामा पुगेको बताइएको थियो ।

 


 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।