क्वरेन्टीनमा कडाइ गर्दा स्वदेशी केराको माग बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन – सरकारले क्वरेन्टीनमा कडाइ गर्दा भारतबाट भइरहेको केरा आयात घटेपछि स्वदेशी उत्पादनको माग बढेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोले विगतका वर्षमा केरा बिक्रीको समस्या अहिले समाधान भएको बताउनुभयो ।

उहाँका अनुसार विगतका वर्षमा जिनाइन (हरियो केरा) बिक्री नभएर चराले खाने अवस्था आएको थियो । साथै चिनीचम्पाले बजार पाए पनि मूल्य राम्रो पाउन कठिन भएको थियो । अहिले जिनाइन केरा प्रतिकोसा ३ रुपैयाँले बिक्री भइरहेको उहाँको भनाइ छ । गएकाे दशैँ, तिहारलगायत चाडपर्वमा जिनाइन केरा बिक्री नहुँदा किसान समस्यामा परेको भए पनि अहिले भने बिक्री बढेको उहाँले सुनाउनुभयो ।

चिनीचम्पा केराले पनि राम्रो मूल्य पाएको उहाँले जानकारी दिनुभयो । यो केरा अहिले घरीको ६०० रुपैयाँमा बिक्री भइरहेको छ । स्वदेशमा उत्पादन भएको केराले बजार र मूल्य पाउँदा किसानले राहत पाएको उहाँको भनाइ छ ।

नेपाल केरा उत्पादक महासङ्घका संयोजक विष्णुहरि पन्त सरकारले जैविक खाद्य सुरक्षामा कडाइ गर्दा आयातित केरा रोकिएको छ । जसका कारण नेपाली उत्पादनले बजार पाउन थलेको हो । उहाँले भन्नुभयो, ‘’नेपालमा टीआर फोर नामक रोग केरामा देखिएपछि क्वरेन्टीनमा कडाइ हुन थालेको छ । गएकाे मङ्सिर २ गतेदेखि आयातित केरामा क्वरेन्टीनमा कडाइ गर्न थालिएको उहाँले बताउनुभयो ।

क्वरेन्टीनले जैविक खाद्य सुरक्षामा कडाइ नगर्दा गएको दशैँ र तिहारमा मात्रै नेपालमा केरा उत्पादन गर्ने किसानले ६० करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले केरा उत्पादन गर्ने किसानमा उत्साह बढेको छ । यही अवस्था रहेमा एक वर्षभित्र केरामा नेपाल आत्मनिर्भर बन्छ ।’ जैविक खाद्य सुरक्षामा कडाइ गरेपछि विस्थापित हुने अवस्थाबाट किसान थपिने अवस्थामा आएको उहाँले बताउनुभयो ।

नेपालमा उत्पादित केराले बजार पाउँदै गर्दा उपभोक्तामा भने चर्को मूल्य तिर्न बाध्य परेको गुनासो आएको बताउँदै उहाँले यस विषयमा सरोकारवालाहरूले अनुगमन गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘मध्यस्तकर्ताबाट उपभोक्ता ठगिएको सूचना पाएका छौँ । यसलाई अनुगमन जरुरी छ ।’

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख महेश रेग्मी अहिले जिल्लामा उत्पादित केराले बजार र मूल्य नपाउने समस्या हटेको बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लामा २ हजार हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । जसबाट वार्षिक ७० हजार मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ ।

राज्यले क्वरेन्टीनमा जैविक खाद्य सुरक्षालाई निरन्तर कडाइ गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न लागिपरेको उहाँले बताउनुभयो । यहाँ उत्पादित केरा चितवनसहित काठमाण्डाै, पोखरा, भैरहवालगायत मुख्य शहरहरूमा जाने गरेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।