साउन ८, काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसद्मा फिर्ता पठाउनुभएको छ ।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको संवैधानिक परिषद् (काम, कर्तव्य,अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संविधानको मर्मअनुकूल नभएको भन्दै प्रतिनिधिसभामा पुनर्विचारका लागि फिर्ता पठाउनुभएको हो ।
विधेयकलाई प्रमाणीकरणका लागि सभामुख देवराज घिमिरले असार ३१ गते राष्ट्रपति कहाँ पठाउनुभएको थियो ।
विधेयक संविधानको मर्म, भावना, लोकतान्त्रिक मूल्य मान्यता एवम् विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा ३ बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाउनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।