जेठ ९, गुल्मी – गुल्मी दिगामका किसानले उखुजन्य पदार्थ उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन । छत्रकोट गाउँपालिका –४ दिगामका युवा किसान रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डेले गाउँमै उखुको रसलाई विविधीकरण गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन ।
तीन जना युवाहरु मिलेर गाउँमा एक करोड रुपैयाँको लगानीमा तीन वर्षदेखि व्यावसायिक रुपमा उखु खेती गर्दै आएका छन । उनीहरुले गाउँले ग्रुप अफ इन्डस्ट्रीज प्रालिमार्फत तीन सय रोपनी जग्गा भाडामा लिएर उखु खेती गर्दै आइरहेका छन ।
उद्योगमार्फत आधुनिक मेशिनबाट पेलिएको उखुको रसलाई प्रशोधन गरेर गुड र खुदोको ब्रान्डिङ गरिएको छ । कम्पनीमार्फत गाउँका एक सय २५ भन्दा बढी किसानको उखु खरिद गरेर त्यसबाट खुदो तथा गुड उत्पादन हुँदै आएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीले उखु प्रशोधनका लागि कम्पनीलाई आधुनिक मेशिन र भट्टी निर्माणका लागि यसपटक ६ लाख ४५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
उद्योगमा १२ लाख रुपैयाँ भन्दा बढी मूल्य पर्ने उखु प्रशोधन मेशिन जडान गरिएको छ । कम्पनीमा उखुको रस प्रशोधन गरेर खुदो र गुड बनाउने काम भइरहेको छ । यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ बिक्री हुँदै आएको छ ।
कम्पनीमार्फत चार महिनाको अवधिमा ९० लाख बराबरको गुड र खुदो बिक्री भइसकेको छ । यसवर्ष एक करोड भन्दा बढीको बिक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश मरासिनीका अनुसार यसवर्ष जिल्लामा पाँच करोड ७० लाख भन्दा बढीको गुडखुदो बिक्री भइसकेको छ ।