रौतहटको गौरमा कर्फ्यू आदेश जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकामा कर्फ्यू आदेश जारी गरेको छ ।

वडा नम्बर ६ मा रहेको सनगढा गाउँमा दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यू आदेश जारी गर्नुभएको हो । दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यू अर्को आदेश जारी नभएसम्म कायम रहने सूचना भनिएको छ ।

प्रजिअ भुसालका अनुसार सदरमुकाम गौर भन्सार कार्यालय, पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर क्षेत्रभित्र कर्फ्यू आदेश जारी भएको छ ।

हिजो बिहानदेखि रौतहटकाे गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको हो । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी भएको हो । गौरको वडा नम्बर ४, ५ र ६ मा झडप भएको छ । झडपका क्रममा एउटा गाडीमा आगजनी भएपछि अवस्था तनावग्रस्त बनेको हो ।

कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्णरूपमा निषेध गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।