काठमाण्डौ – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा चौधौँ राष्ट्रिय पशु तथा मत्स्य अनुसन्धान कार्यशाला ललितपुरको खुमलटारमा चलिरहेको छ । हिजोदेखि शुरू भएको कार्यशालाको उद्घाटन समारोहमा परिषद्का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले समयको माग अनुसारको पशुपालन प्रविधि, स्रोत र साधनको भरपूर उपयोग हुनुपर्नेमा जोड दिनुभयो ।
अनुसन्धान र सम्बन्धित सबै संस्थाको सहकार्यमा प्रविधिको विकास तथा विस्तार गर्नु नै अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । परिषद्ले प्रादेशिकस्तरमा एक प्रदेश दश पालिकाका दरले अनुसन्धानमा सहकार्य विस्तार गर्दै जाने योजनालाई अघि सारेको छ ।
जलवायु मैत्री प्रविधि, सङ्क्रामक रोगहरूको समयमै निदान र रोकथाम एवम् पशुपालनलाई उद्योगसँग जोड्नेतर्फ लाग्नुपर्ने डा. तिम्सिनाले बताउनुभयो । कार्यक्रममा हेफर इन्टरन्यासनल नेपालका निर्देशक डा. केशव साहले देशका ५० जिल्लाका ५ लाख किसानसँग उद्यमशीलताको विकासमा संस्थाले काम गरिरहेको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था नेपालका निर्देशक डा. मनोहरा खड्काले खाद्य प्रणाली सबल बनाउन जलस्रोतको पर्याप्त उपयोग गर्नुपर्ने र त्यसको लागि परिषद्सँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपालमा पशुपक्षी र मत्स्यपालनका अनुसन्धान उपलब्धिबारे परिषद्का निर्देशक डा. निना गोर्खाली, स्थानीय भैँसीको लैंगिक पृथकीकरणबारे भारतीय कृषि अनुसन्धान परिषद्को तर्फबाट डा. सउमेन नस्कर, पशुपालन प्रणालीको रूपान्तरका लागि नीतिगत मार्गचित्रबारे डा. विष्णुराज उप्रेती र मानव स्वास्थ्य, पशु स्वास्थ्य र दिगोपनको संयोजनमा नेपालको लागि दृष्टिकोणबारे क्यानडाबाट आमन्त्रित डा. द्रोणप्रकाश रसालीले मुख्य प्रस्तुति गर्नुभएको थियो ।
यसैगरी नेपालमा पशु आहारा र व्यवस्थापन प्रणालीको अवस्थाबारे प्रा.डा. नवराज देवकोटा, बदलिँदो जलवायुको अवस्थामा दिगो पशुपालन तथा व्यवस्थापन विषयमा डा. चेतराज उप्रेती र खाद्य सुरक्षा र आर्थिक वृद्धिका लागि दिगो मत्स्यपालन विषयमा बंगलादेशका डा. मन्जुरूल करिमले प्रस्तुति दिनुभयो ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार कार्यशालामा कृषि आधुनिकीकरण परियोजना, केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजु, अन्तर्राष्ट्रिय पशु अनुसन्धान संस्था, भारतीय कृषि अनुसन्धान परिषद्, हेफर इन्टरन्यासनल नेपाल, लुथरन नेपाल, अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था, विश्व विद्यालय, पशुसेवा विभाग प्रतिनिधिहरु, परिषद्का निर्देशक एवम् वैज्ञानिक लगायतको सहभागिता छ । कार्यशालामा पशु, पक्षी र मत्स्यविषयका ६७ कार्यपत्र प्रस्तुत तथा छलफल गरिने छ । कार्यक्रम भोलिसम्म चल्नेछ ।