सैनामैनामा महिला संग उपप्रमुख कार्यक्रम प्रभावकारी बन्दै,सीप सिकेर स्वरोजगार बन्दै महिलाहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नरेश चौधरी, सैनामैना,जेठ ०५।
सैनामैनाका महिलाहरु सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाले महिला संग उपप्रमुख कार्यक्रम सञ्चालन गरे पछि महिलाहरु सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् । महिलाहरुको आय–आर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सैनामैना नगरपालिकामा अहिले महिला संग उपप्रमुख कार्यक्रम सञ्चालन भैरहेको छ ।

सो कार्यक्रम अन्तर्गत ६५ दिने फेसन डिजाइनर तालिम लिइ सैनामैना–१, कि निर्मला भूषालले अहिले सटर भाडामा लिइ सिलाई तथा बुटिक पसल संगै ट्रनिङ सेन्टर खोल्नु भएको छ । नगरपालिकाले महिला संग उपप्रमुख कार्यक्रम अन्तर्गत दिइएको ६५ दिने फेसन डिजाइनर तालिम लिइसकेपछि अहिले उहाँ ब्यवासायिक रुपमा नै सिलाई पसल संगै ट्रनिङ सेन्टर सञ्चालनमा ल्याउनुभएको हो । उहाँले करिब पाँच लाखको लगानीमा जेठ ४ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमै सैनामैना–२, स्थित रानिबगियामा कुसुम बुटिक एण्ड ट्रेनिङ सेन्टर तथा काज बटन पसल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले अत्याधुनिक मेसिन राखि सिलाईका काम संगै तालिम दिने ट्रनिङ सेन्टर खोल्नु भएको छ । उहाँले बालबालिका तथा महिलाहरुले लगाउने कपडाहरु सिलाउने, स्कुल ड्रेस लगाएत सिलाउने काम गर्नुहुन्छ । अहिले उहाँ २ जनालाई रोजगारी समेत दिनु भएको छ । महिला संग उपप्रमुख कार्यक्रम अन्तर्गत नगरपालिकाले दिईएको सिप सिकेर अहिले पसल खोल्न सफल भएको उहाँ बताउनुहुन्छ । तालिम भन्दा पहिला अलिअलि सिलाउने काम गरे पनि नगरपालिकाले दिईएको तालिमले थप ज्ञान सिप सिकेकाले काम गर्न सहज भएको निर्मलाले बताउनुभयो ।  

निर्मलाले सञ्चालन गरेको ट्रेनिङ सेन्टर र काज बटन पसलको एक कार्यक्रमका विच सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले शुक्रबार उद्घाटन समेत गर्नुभयो । 

यस्तै  तालिम लिए पछि सैनामैना ७ की तेजु काउछा अहिले तालिम प्रशिक्षक बन्नुभएको छ । सैनामैना ७ मा सञ्चालित एक महिने सिलाई कटाई तलिममा उहाँ अहिले आफुले सिकेका सिप सिकाई रहनुभएको छ । तालिम अवधिभर धेरै कुरा सिक्ने मौका पाएको उहाँ बताउनुहुन्छ । तालिमले आफुलाई प्रशिक्षक बनाएको बताउनुभयो ।

तालिमले सिप संगै काम गर्ने उर्जा थपेको सैनामैना १० कि मिना राना बताउनु हुन्छ । `मेराे व्यावसयमा तालिमले धेरै सहयोग गरेकाे छ, हामी सीप सिक्छौँ, आत्मनिर्भर बन्छौँ, आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौ भनेर तालिममा सहभागी बनेऔं, तालिममा हामीले धेरै कुरा सिकेऔं ।’ उहाँ भन्नुहुन्छ । उहाँ व्यवसायीक रूपमा साल्झण्डीमा सिलाई पसल गर्दै आउनु भएकाे छ।      

वेदकुमारी घर्ति मगरले ७ वर्ष अगाडी सैनामैना–१ स्थित आफ्नै घरको सटरमा सिलाई कटाई गर्नुहुन्थ्यो, नगरपालिकाले दिईएको तालिम सिकेपछि नयाँ नयाँ डिजाईनका सिलाईका काम गर्न सक्ने भएको बताउनुभयो । ‘समय अनुसार बजारमा विभिन्न फेसन तथा डिजाइनहरु आउछ त्यही अनुसार सिलाउनुपर्ने हुन्छ, ग्राहकको चहाना अनुसार अहिले म सिलाउन सक्ने भएको छु’ उहाँ बताउनु हुन्छ । 

सीपले जीवनस्तरमा सुधार ल्याउने आशा रहेको सैनामैना २ कि लक्ष्मी थारु र रुपा थारु बताउनुहुन्छ । नगरपालिकाले दिईएको ६५ दिने फेसन डिजाइनर तालिम लिइएर धेरै ज्ञान सिप सिकेको उहाँहरुको भनाई छ । ‘हामीले पहिला अलिअलि घरमै कपडा सिलाईका काम गथ्यौं, नगरपालिकाले दिईको फेसन डिजाईनर तालिम लिइए पछि अहिले विभिन्न डिजाईनका सिलाई सम्बन्धी सिप र ज्ञान भएको छ ।’ –उहाँहरु भन्नुहुुन्छ ।

तालिममा सहभागी २७ जना माध्य कोही व्यवसयिक रुपमा, कोही आफ्नै घरमा सिलाईका काम गर्दै आएकाछन् । फुर्सदको समयलाई सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने तालिम लिएका प्रशिक्षार्थीहरु बताउँछन् । अहिले व्यस्त हुँदा कुनै नकारात्मक कुरा सोच्नेसमेत समय नहुने गरेको उहाँहरुको भनाई छ ।

महिलालाई आत्मनिर्भर बनाउन विभिन्न प्रकारका सिलाई तथा सजावटका सामग्री बनाउन र सिलाईका सिप सिकाइएको कार्यक्रमकी प्रमुख प्रशिक्षक नम्रादा पचभैयाले बताउनुभयो । तालिममा नम्रादा पचभैया र सुनिता कंडेलले प्रशिक्षण दिनुभएको थियो । 

फेसन डिजाइनर तालिममा सैनामैना वडा नं. १ देखि ११ का २७ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सैनामैना नगरपालिकाले आर्थिक सहयोग गरेको थियो भने आधार ट्रेनिङ सेन्टर रुपन्देहीले ब्यवस्थापन गरेको थियो । फेसन डिजाइनर तालिम २०८० माघ ९ गते देखि ६५ दिन सम्म सञ्चालन भएको थियो ।

महिलाहरुलाई उद्यमी र आर्थिक रुपमा कसरी सशक्त बनाउन सकिन्छ भनेर महिलाहरुलाई फेसन डिजाइनर तालिम दिइएको महिला, बालबालिका तथा सामाजिक विकास शाखाकी तुल्सा ज्ञवालीको भनाई छ । नेतृत्व क्षमताको विकास कसरी गर्न सकिन्छ भनेर महिलाहरुलाई नगरपालिकाले विभिन्न सिपमूलक तालिमहरु दिईरहेको उहाँको भनाई छ । यस आर्थिक वर्षमा आचार बनाउने तालिम, फुल्की बनाउने तालिम, माइन्युटलेखन तथा प्रतावना लखन तालिम, सिलाई कटाई फेसन डिजाइनर तालिम लगाएत महिलाहरुलाई दिई सकेको उहाँले बताउनु भयो । 

महिलाहरुलाई नेतृत्व क्षमताको विकास गराउनु, महिलाहरुलाई सिप सिकाउनु नगरको दायित्व भएकाे सैनामैना नगरपालिकाकि उपप्रमुख विना रानाले बताउनु भयाे । `हामी महिलाहरुलाई उद्यमी बनाउनका लागि महिला संग उपप्रमुख कार्यक्रम सञ्चालन गरेका छौं, हामी महिला दिदी बहिनीहरुको समस्या बुझ्छौं ।’ विपन्न तथा आर्थिकरुपमा पछि परेका महिलाहरुको आयआर्जनमा सुधार ल्याउने हिसाबले नगरपालिकाले सीपमूलक तालिम दिन थालेको उहाँकाे भनाई छ । तालिम पश्चात प्रशिक्षार्थीले उत्पादन गरेका विभिन्न सामग्रीहरुको बजारीकरण गरिदिन भनेर नगरपालिकाले महिला संग उपप्रमुख कार्यक्रम अन्तर्गत सैनामैनामै कोसेली घर बनाउने योजना रहेको सैनामैना नगरपालिकाकी उपप्रमुख विना राना बताउनुहुन्छ । महिलाहरुलाई रोजगार दिने खालका तालिमहरु आगामी दिनहरुमा निरन्तरता दिईने उहाँको भनाई छ ।

सैनामैनामा आ.व २०८०/८१ मा महिला संग उपप्रमुख कार्यक्रम अन्तरर्गत हस्तकला तथा विभिन्न सिपमुलक तालिम, नेतृत्व विकास तथा सचेतनामूलक कार्यक्रम लगाएत सञ्चालन भैरहेको छन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।