आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ — आजदेखि तीन दिनसम्म थप पानी पर्ने सम्भावना रहेको छ । गएरातिदेखि नै मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । पानी पर्नेक्रम सोमबारसम्म नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार हिजो/अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भागका थोरै ठाउँमा ठूलो वर्षा तथा एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा पनि मुसलधारे वर्षा हुनसक्ने अनुमान छ । भोलि आइतबार र पर्सि सोमबार पनि मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मुसलधारे र आरीघोप्टे वर्षाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन र यात्रा गर्नुपूर्व पनि मौसम र सडकको अवस्थाबारे पूर्व जानकारी लिन मौसमविद्को अनुरोध छ  ।

मौसमका जानकार उज्जवल उपाध्यायले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेकाले लामो दूरीको यात्रा नगर्न फेसबुकमार्फत सुझाव दिनुभएको छ ।

mausam-pic-1784342228.JPG

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई radiotimes94.8@gmail.com मा पठाउनु होला । धन्यवाद ।