काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली कोलकाता नाइट राइडर्सका कप्तान अजिन्क्या रहाणेलाई भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले जरिवाना गरेको छ ।
गएराति भएको चेन्नई सुपर किङ्ग्ससँगको खेलमा ‘स्लो ओभर रेट’ का कारण बीसीसीआईले कोलकाताका कप्तान रहाणेलाई १२ लाख भारु जरिवाना गरेको हो । यो संस्करणमा कोलकाताको यो पहिलो गल्ती हो ।
याे खेल चेन्नईले ३२ रनले जितेकाे थियाे । चेन्नईले दिएकाे १९३ रनकाे लक्ष्य पछ्याएकाे काेलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्याे । काेलकाताका रमनदीप सिंहले ३५ रन बनाए । चेन्नईका नूर अहमदले ३ विकेट लिए ।
यसअघि घरेलु मैदान एमए चिदम्बरम रङ्गशालामा टस हारेर ब्याटिङ गरेकाे चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएकाे थियाे । चेन्नईका सन्जु सामसनले ४८ रन बनाए । काेलकाताका कार्तिक त्यागीले २ विकेट लिए ।
याे जीतसँगै चेन्नई ५ खेलमा ४ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा उक्लिएकाे छ । चेन्नईले सन् २०२४ अप्रिलपछि पहिलो पटक लगातार दुई खेल जितेको छ । यस्तै काेलकाता ५ खेलमा चाैथाे हार बेहाेर्दै पुछारमा छ । काेलकाता अझै जीतविहीन छ ।
यस्तै यो संस्करणमा अजिन्क्या रहाणे ‘स्लो ओभर रेट’ का कारण कारबाहीमा पर्ने चौथो कप्तान बनेका छन् । यसअघि पन्जाब किङ्ग्सका कप्तान श्रेयस अय्यर दुई पटक तथा चेन्नईका कप्तान ऋतुराहज गायकवाड र गुजरात टाइटन्सका कप्तान शुभमान गिल एक/एक पटक कारबाहीमा परेका छन् ।
आईपीएलको नियमअनुसार ‘स्लो ओभर रेट’ का लागि कप्तानलाई जरिवाना गरिन्छ ।