इरान समर्थित यमनको हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादमा तथा लाल सागरको तटीय क्षेत्रका ऊर्जा केन्द्रहरूमा ड्रोन र ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण गरेको बताएको छ ।
साउदी अधिकारीहरूले शनिवार रियादतर्फ प्रहार गरिएको एउटा ब्यालेस्टिक क्षेप्यास्त्रलाई निस्तेज गरिएको बताएका छन् । थप आक्रमण भए वा नभएको र त्यसमा मानिसहरू परे वा नपरेको उनीहरूले पुष्टि नगरेका बीबीसीले जनाएको छ ।
इरान समर्थित हुथीहरूले जुलाईयता साउदी अरबमाथि बढाएको आक्रमणपछि शनिवार पहिलो पटक साउदी राजधानीमा हवाई आक्रमणको चेतावनी दिने साइरन बजेको थियो ।
यसअघि गएको एक हप्तामा साउदी अरबले यमनभरि ३०० वटा हवाई आक्रमण गरेको हुथीका सैन्य प्रवक्ता याह्या अल–सारेआलेको आरोप छ ।
हुथीले पछिल्ला महिनामा कैयौँ पटक साउदी अरबभित्र आक्रमण गरिरहेको छ । हुथी र साउदी समर्थित सरकारी फौजबीचको लडाइँमा शनिवार ४८ जनाको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ । यद्यपि यो विवरणको आधिकारिक रूपमा पुष्टि भएको छैन ।
पछिल्लो आक्रमणपछि साउदी अरब र इरान–समर्थित हुथी विद्रोहीबीच द्वन्द्व थप तीव्र हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सैन्य द्वन्द्व बढ्न सक्ने भन्दै मध्यपूर्वबाहिर रहेका अमेरिकी नागरिकलाई यस क्षेत्रमा भ्रमण वा यात्राबारे गम्भीरतापूर्वक पुनर्विचार गर्न आग्रह गरेको छ ।
यसैबीच अमेरिकाले साउदी अरबलाई सम्भावित खतराबाट जोगाउन सहयोग गर्ने उद्देश्यले २४ अर्ब ३० करोड डलर मूल्यका ४८ वटा एफ–३५ लडाकु विमान बिक्री गर्न स्वीकृति दिएको छ ।

