त्रिभुवन र कान्ति राजमार्गमा आजदेखि दुईतर्फी गाडी सञ्चालन

काठमाण्डौ – हेटौँडाबाट काठमाण्डौ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको छ । त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै काठमाण्डौसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाण्डौ उपत्यकासँग जोड्छ ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि गाडी आवागमनलाई सहज, सुरक्षित तथा व्यवस्थित बनाउन गएको भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक गाडीलाई त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्नेगरी प्रशासनले एकतर्फी व्यवस्था गरेको थियो ।

कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएपछि यो व्यवस्था हटाउँदै आजदेखि त्रिभुवन राजपथ र कान्ति राजमार्गमा नियमित रूपमा दुईतर्फी रूपमा यातायात सञ्चालन खुला गरिएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *