काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले महाधिवेशनको दिन पूर्वसभापति आएर उद्घाटन गरिदिनु पार्टीका लागि सम्मानको विषय हुने बताउनुभएको हो । उहाँले पार्टी विधानअनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले पूर्वसभापतिको औपचारिक बिदाइको चरणमा पार्टी पुग्ने उल्लेख गर्नुभयो ।
विशेष महाधिवेशनपछिका मागहरू सम्बोधन भइसकेकाले अब छुट्टै महाधिवेशनको औचित्य नरहेको स्पष्ट पार्दै उहाँले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा निर्धक्क सहभागी हुन पनि तल्लो तहका कार्यकर्तालाई अपील गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘महाधिवेशनको दिनमा पूर्वसभापतिज्यू आएर महाधिवेशनको उद्घाटन गरिदिनु हाम्रा लागि ठूलो सम्मानको विषय हो । पार्टीको विधानले पनि अब उहाँ पुनः सभापति हुने होइन, महाधिवेशनबाट नयाँ सभापति चयन हुने व्यवस्था गरेको छ । त्यसैले उहाँको सम्मानपूर्वक बिदाइ हुने समय पनि यही हो । सभापतिज्यूको अनुपस्थितिमा अन्य नेताहरूले उठाउनुभएका विषयहरू पनि सम्बोधन भइसकेका छन् । अब थप अलमल नगरिकन पूर्वसभापतिज्यूलाई महाधिवेशनमा सहभागी भएर सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु ।’
कांग्रेसकाे १५औँ महाधिवेशन आउँदाे असोज १६ देखि १९ गतेसम्म काठमाण्डाैमा आयाेजना हुँदैछ ।

