एशियाली खेलकुद : २ मिटरभन्दा अग्ला खेलाडीले ओछ्यानमा खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने

एशियाली खेलकुदमा अग्ला खेलाडीहरूले कन्टेनरमा रहेका ओछ्यानमा आफ्ना खुट्टा तन्काउन नसक्ने अवस्था रहेको एक अधिकारीले बताएका छन् ।

पर्सि शनिवार जापानमा औपचारिक रूपमा एशियाली खेलकुद शुरू हुनुअघि हजारौँ खेलाडीहरूका लागि तयार पारिएका काठका कन्टेनर–शैलीका छाप्राहरू तीव्र आलोचनाको विषय बनेका छन् । यद्दपि केही खेलहरू भने यसअघि नै शुरू भइसकेका छन् ।

कोरिया बास्केटबल सङ्घका उपाध्यक्ष जुङ जे–योङले खेलाडीहरूका लागि बसोवासको व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

२ मिटर अर्थात् ६ फिट ७ इन्चभन्दा अग्ला खेलाडीहरूले त ओछ्यानमा आफ्ना खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने उहाँको भनाइ छ ।

नागोया शहर र फराकिलो आइची प्रिफेक्चरमा आयोजना भइरहेको २०औँ संस्करणको एशियाली खेलकुदमा शय्याको सम्भावित अभावलाई लिएर केही हप्तायता चिन्ता व्यक्त हुँदै आएको छ । प्रतियोगितामा १७ हजारभन्दा धेरै खेलाडी तथा पदाधिकारीहरू सहभागी छन् । शुरूमा १५ हजार जनाको सङ्ख्यामा खेलाडी तथा पदाधिकारीहरू सहभागी हुने अनुमान थियो ।

झन्डै २ हजार पाहुनाहरूलाई आश्रय दिने र विपद्को समयमा मानिसहरूलाई सुरक्षित ठाउँमा सार्ने केन्द्रका रूपमा पुनः प्रयोग गर्न सकिने गरी डिजाइन गरिएका ती कन्टेनरहरूलाई लिएर विभिन्न गुनासाहरू आएका छन् ।

कन्टेनर हटहरूका साथै ४ हजारदेखि ५ हजार जना खेलाडी तथा पदाधिकारीहरू अस्ति मङ्गलवार नागोयामा आइपुगेको इटालियन क्रुज जहाजमा बस्नेछन् । बाँकी सहभागीहरू भने होटलमा बस्नेछन् ।

दक्षिण कोरियाली बास्केटबल टोलीका एक सदस्यले आफ्नो कोठामा पाइपबाट पानी चुहिएर भुइँ भिजेको भिडियो पोस्ट गर्दै ‘कृपया मलाई मद्दत गर्नुहोस्’ भन्ने क्याप्सन लेखेका छन् ।

गएको हप्ता नागोयामा परेको कीर्तिमानी वर्षाका कारण व्यापक बाढी आउँदा खेलाडीहरूलाई पनि केही समयका लागि कन्टेनरहरूबाट बाहिर निकालिएको थियो । प्रतियोगिता सञ्चालन हुने केही स्थलहरूमा पनि पानी चुहिएको खबर सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *