अनशनको पाँच दिनमै गले डा. केसी, टिचिङमा ल्याएर उपचार शुरु

काठमाडौँ : इलाम पुगेर अनशन बसेका प्राडा गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ल्याएर उपचार शुरु गरिएको छ।

इलाम पुगेर २५औँ अनशन बसेका केसीको पाँच दिनमानै शरीरको स्वास्थ्यका प्राय: सबै सूचकहरू कमजोर हुदै जान थालेपछी हाल टिचिङमा भर्ना गरेर उपचार शुरु गरिएको हो।

श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार रातिदेखि नै अक्सिजन दिएर उपचार शुरु गरिएको थियो। यसै अनुसार इमरजेन्सी अवस्थामा नै काठमाडौँ ल्याइएको केसीको सचिवालयले जनाएको छ।

आज बिहानको  डा केसीको स्वास्थ्य रिपोर्टमा रक्तचाप १००/६० र पल्स ९० देखि १०० रहेको छ। रगतमा सुगरको मात्रा ३६ मिलिग्राम प्रतिशतमा झरेको छ। पिसाबमा एसिटोन (प्लस प्लस) हुदै गएको र मुटुको इसिजी परीक्षणमा भेन्ट्रिकुलर प्रिम्याच्योर कम्प्लेक्स (भिपिसी) समेत देखिएको अस्पतालले जनाएको छ।यस्तो अवस्थामा व्यक्ति जुनसुकै समयमा बेहोश हुने अवस्था आउने चिकित्सकहरू बताउँछन्।

गेटामा पूर्वाधारविना एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन अनुमति खारेज गर्नुपर्ने,प्राडा केसी यो पटक चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा देवेन्द्रबहादुर खत्री तथा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार जोशी र रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई बर्खास्त गर्नुपर्ने,  यसअघि सरकारसँग भएका सहमतिहरू कार्यान्वयन हुनुपर्ने लगायतका ६ बुँदे माग राख्दै उनी अनशनमा बसेका छन्।

त्यस्तै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, सरकारी तथा सार्वजनिक स्रोतबाट सञ्चालित संस्थामा ७५ प्रतिशत छात्रवृत्ति व्यवस्था लागू गर्नुपर्ने र सरकारसँग भएका स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारसम्बन्धी सहमति कार्यान्वयन गर्नुपर्ने उनको माग छ।

इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने तथा बर्दिवास मेडिकल कलेज निर्माण अघि बढाउने सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि केसीले अघि सारेका छन्।

केसीको अनशन र स्वास्थ्य अवस्था जटिल बन्दै जाँदा उनका माग सम्बोधनका लागि सरकारमाथि दबाब बढेको छ।अनशनको पाँचौ दिन सम्म आइपुग्दा उनको मागको बारेमा सरकारले हालसम्म  सरकारले औपचारिक रुपमा वार्ता समिति गठन गरेको छैन।

यता चिकित्सकहरुको साझा संगठननेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा डा. केसीको स्वास्थ्यलाई लिएर गहिरो चिन्ता व्यक्त गरिएको छ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँच तथा सुशासन कायम गर्न लामो समयदेखि आवाज उठाउँदै आएका डा. केसीको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।

उनको शरीरमा सुगर र अक्सिजनको मात्रा कम हुनुका साथै स्वासप्रश्वासमा समेत कठिनाई भएपछि अक्सिजन दिइएको र चिकित्सकहरूले थप सुविधासम्पन्न अस्पतालमा सार्न सुझाव दिएको विषयले संघलाई थप चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *