काठमाडौँ : विरामीका लागि आवश्यक रक्त अभाव भएपछि नेपाल रेडक्रस सोसाइटीले सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ।
उपचाररत विरामीका लागि रगतको माग बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा मौज्दात घटेपछि रक्तदान गर्न विशेष आग्रह गरिएको हो।
बडादशैँको लामो बिदाका कारण केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा यस्तो अवस्था आएको हो।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहको मौज्दात सकिएको छ। यसले गर्दा विरामीलाई आवश्यक रगत व्यवस्थापन गर्न कठिनाइ भइरहेको सोसाइटीको भनाइ छ। डा. यादवले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न आग्रह गरे।
यसैगरी बुधवार असन सेवा समितिले असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौँ महानगरको विशेष सहकार्यमा उक्त रक्तदान आयोजना गरिएको हो। ‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा असनका स्थानीय बासिन्दाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवाकेन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गर्दै आएको छ। विरामीका लागि रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१–५३८८४८५ र ०१–५३८८४८६ मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ। निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ।

