काठमाडौं : नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुको चार जातका जर्मप्लाज्म प्रदान गरेको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई लखनउस्थित भारतीय उखु अनुसन्धान संस्थानले उखुका चार उन्नत जातका बिउ सीओएलके १६२०२, सीओएस १७२३१, सीओएस १८२३१ र सिओएलके १६४७० उपलब्ध गराएको हो। परिषदको केन्द्रीय कार्यक्रममा भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बीउ नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठलाई हस्तान्तरण गरिन्।
बाराको जितपुरस्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थानसँगको सहकार्यमा भित्र्याएको चारैवटा जात रेड रट रोग प्रतिरोधी रहेका नार्कले जनाएको छ।

नेपालाई भारतले दिएको चारमध्ये सिओएलके १६२०२ र १६४७० मध्य–ढिलो पाक्ने (मिड लेट म्याचोरिटी) जातहरू हुन्। १६२०२ को उत्पादन ९३.२ टन प्रतिहेक्टर रहेको छ र यसमा सुक्रोजको मात्रा १७.७% छ भने १६४७० को उत्पादन ८२.५ टन प्रतिहेक्टर र सुक्रोजको मात्रा १७.४% रहेको छ।
बाँकी दुई जातहरू १७२३१ र१८२३१ छिटो पाक्ने (अर्ली म्याचोरिटी) जातहरू हुन्, जसमा १७२३१ को उत्पादन ९१.५ टन रसुक्रोजको मात्रा १७.७% रहेको तथा १८२३१ को उत्पादन ८२.५ टन प्रतिहेक्टर र सुक्रोजको मात्रा १८.०% रहेको जात हुन्।
नेपालमा करिब ५३ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ र उखुको औसत उत्पादकत्व प्रतिहेक्टर करिब ५० मेट्रिक टन रहेको छ।
उखुका उन्नत जात हस्तान्तरण कार्यक्रममा कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमा भारतको तुलनामा उखुको उत्पादकत्व कम रहेको उल्लेख गर्दै नयाँ जातहरूमा पाइने उच्च सुक्रोज मात्रा र रेड रट रोग प्रतिरोधी क्षमताले उखुको उत्पादन बढाउन ठूलो सहयोग पुग्ने बताए।
‘यसले किसानहरूलाई प्रत्यक्ष रूपमा फाइदा पुर्याउनुका साथै उखु उद्योगहरूलाई लामो समयसम्म सञ्चालन गर्न मद्दत गर्नेछ’, उनले भने। किसानहरूमा नयाँ जातहरू पुर्याउनका लागि परिषद्का अनुसन्धान केन्द्रहरूमा बहु–स्थान परीक्षण गरिनेछ।
आगामी ३ वर्षभित्र यी जातहरूको विकास र प्रवर्धनका लागि पर्याप्त बीउ उपलब्ध हुने नार्कको विश्वास छ। भारत सरकारको सहयोगमा नेपालमै उखुको ब्रिडिङ कार्यक्रम शुरु गर्न सकिने सम्भावना रहेको नार्कका कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउँछन्।

