अमेरिकामा ‘एआई’ को सट्टा ‘एसआई’ शब्दको प्रयोग शुरू

प्रविधिका क्षेत्रमा प्रयोग हुँदै आएको परिचित शब्द ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् ‘एआई’ को सट्टा अमेरिकामा ‘सुपर इन्टेलिजेन्स’ ‘एसआई’ प्रयोग हुन थालेको छ ।

अमेरिकी न्याय मन्त्रालयलगायत अन्य सङ्घीय निकायहरूले आफ्ना आन्तरिक नीति, कागजात र सञ्चारमा अब ‘एआई’ को सट्टा ‘एसआई’ शब्द प्रयोग गर्न थालेका हुन् ।

न्याय मन्त्रालयले मातहतका सबै निकायलाई पनि ‘एआई’ को सट्टा ‘एसआई’ शब्द प्रयोग गर्न कडा निर्देशन दिएको एनबीसी न्युजले जनाएको छ । मन्त्रालयले आफ्ना कर्मचारी र अधिकारीहरूलाई जारी गरेको परिपत्रअनुसार अबदेखि अदालतका कानूनी फाइल, नीतिगत दस्तावेज तथा सरकारी सार्वजनिक सञ्चारमा ‘एआई’ को सट्टा आधिकारिक रूपमा ‘एसआई’ शब्दको अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सेप्टेम्बर २९ मा हस्ताक्षर गर्नुभएको विशेष कार्यकारी आदेशको प्रभावस्वरूप यो नयाँ अभ्यास शुरू भएको हो ।

प्रविधिको तीव्र विकास र यसको दूरगामी प्रभावलाई अझ गम्भीरताका साथ सम्बोधन गर्नका लागि यो नीति लिएको अमेरिकी सरकारले जनाएको छ । यस कदमले विश्वभर भइरहेको प्रविधिको विकासक्रममा अमेरिकाले अपनाउने शब्दावली र कानूनी परिभाषामा समेत ठूलो फेरबदल ल्याउने विश्लेषण गरिएको छ ।

अन्तर्राष्ट्रिय प्रविधि बजार र कूटनीतिक वृत्तमा समेत यस निर्णयले बहस सिर्जना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *