काठमाण्डाै –पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ।
सिंहदरबारमा आज आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले याे जानकारी दिनुभएको हो ।
विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनर्स्थापनाका लागि काम गरिरहेको बताउनुभयो । उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिनुभयो ।
मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन गर्नमा पनि सरकारले योजना बनाइरहेको उल्लेख गर्नुभयाे ।
मन्त्री लम्सालका अनुसार नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना छ । त्यसका लागि गुरुयाेजना तयार गर्ने काम अघि बढाउने उहाँकाे भनाइ छ ।

